हेटौंडा । अनेम संघ (समाजवादी) जिल्ला कार्यसमिति हेटौंडाको आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । संघकी जिल्ला अध्यक्ष शुक्रदेवी बलको सभाध्यक्षता तथा अनेम संघ (समाजवादी) की केन्द्रीय अध्यक्ष मुनु सिग्देलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष सिग्देलले पुराना क्रान्तिकालीन गीतहरूको स्मरण गर्दै महिलाको हक–अधिकारका लागि विगतमा गरिएको संघर्ष र त्यसका उपलब्धिहरूलाई उजागर गरिन् । उनले महिलाहरुले ३३ प्रतिशत अधिकार प्राप्त गर्नासाथ प्रमुख पदहरूमा नेतृत्व लिन सफल भएको बताउँदै, “महिला एकतामा रहे समाज परिवर्तन गर्न सक्छौं, तीजमा रमाइलोसँगै देश चिन्तन गर्नु आजको आवश्यकता हो,” भन्दै सचेत गराइन् ।
नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य घनप्रसाद गौतमले महिलाको एकता मुलुक परिवर्तनको मूल आधार हुने उल्लेख गरे । विदेशिन बाध्य नेपाली युवाशक्ति रोक्न देशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिँदै उनले महिलाले समाज र मुलुक परिवर्तनमा सक्रिय नेतृत्व लिनुपर्ने धारणा राखे ।
त्यसैगरी, पार्टीका केन्द्रीय सदस्य राजाराम स्याङ्तानले चाडपर्व मनाउने नाममा संस्कार बिर्सेर कुलतमा फस्ने प्रवृत्ति बढिरहेको भन्दै सचेत रहन आग्रह गरे । जिल्ला अध्यक्ष बिष्णु दाहालले चाडपर्वमा भड्किलोपन भन्दा पनि समाज र संस्कृतिलाई सुहाउँदो तरिकाले उत्सव मनाउनुपर्नेमा जोड दिए ।
सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न कार्यक्रममा प्रगति लेखक संघकी केन्द्रीय उपाध्यक्ष शान्तिप्रिय बन्दनाले चेतनामूलक मुक्तक र कविता वाचन गरेकी थिइन् भने दोहोरी सांस्कृतिक समूहले गीत र नृत्य प्रस्तुत गरेका थिए । सहभागीहरू पनि गीतको तालमा नाच्दै रमाएका थिए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा, पार्टीका केन्द्रीय सल्लाहकार परिषद सदस्य यादव गजुरेल, प्रदेश सदस्य कल्पना विश्वकर्मा, रामेश राई, जिल्ला उपाध्यक्ष धुर्ब भुजेल, सचिव किशोर बर्तौला, सचिवालय सदस्य रघुप्रसाद आचार्य, नगर अध्यक्ष बिष्णुमाया लामा लगायत विभिन्न तहका पदाधिकारी तथा संघ–संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।





















































