हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनताको विश्वास र अपेक्षाअनुसार जनमुखी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक आफ्नै निर्वाचन क्षेत्र मकवानपुर–२ (ख) मा आयोजित औपचारिक कार्यक्रममा सहभागी हुँदै उनले गरिबमुखी, आयमुखी र न्यायमुखी कार्यक्रममार्फत प्रदेशको समग्र विकासलाई अघि बढाउने अठोट व्यक्त गरे ।
मनहरी गाउँपालिकाले बुधबार आयोजना गरेको मुख्यमन्त्री स्वागत तथा तीज विशेष कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले निर्वाचन क्षेत्रमा विकासका कामलाई निष्पक्ष ढंगले अघि बढाउने बताए । उनले भने, “मलाई प्रदेशसभा सदस्य निर्वाचित गराउन मनहरीवासीले ठूलो योगदान गर्नुभएको छ । विश्वास गरेर जिताएकै कारण म मुख्यमन्त्री बन्न सकेको हुँ । अब पार्टी नहेरी जनताको आवश्यकता हेरी विकास गर्नु मेरो कर्तव्य हो ।”
उनले लामिटार–चकरी–मकरी सडकलाई प्राथमिकतामा राखी कालोपत्रे गर्ने तथा पुल, सडक र अन्य पूर्वाधार विकासमा ध्यान दिने प्रतिवद्धता जनाए । साथै, हरितालिका तीजलाई सभ्य, भव्य र सुसंस्कृत ढंगले मनाउन आग्रह पनि गरे ।
गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाले आफ्नै क्षेत्रका सांसद बानियाँ मुख्यमन्त्रीमा नियुक्त भएकामा बधाई ज्ञापन गर्दै सम्मानपत्र समेत प्रदान गर्यो ।
त्यसैगरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, नेतृ कमला मैनालीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मुख्यमन्त्री बानियाँले सोही दिन मनहरीस्थित सम्पर्क कार्यालयमा पुगेर आम नागरिकका समस्या र गुनासा पनि सुनेका थिए ।



































