पत्रकार महासंघ मकवानपुरले स्थापना गर्यो ‘सुत्केरी प्रवर्द्धन कोष’

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले महिला पत्रकारको प्रजनन स्वास्थ्य र सुरक्षित सुत्केरी प्रवर्द्धनका लागि विशेष कोष स्थापना गरेको छ। बिहीबार हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा कोषको औपचारिक शुभारम्भ गरिएको हो।

उपमहानगरपालिकाले उक्त कोषका लागि ५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ। कार्यक्रममा नगर प्रमुख लामाले महिला पत्रकारहरूको स्वास्थ्य सुरक्षाका लागि यस्तो पहल प्रशंसनीय भएको बताउँदै व्यक्तिगत तर्फबाट १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरिन्।

त्यस्तै उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले पनि महिला पत्रकारहरूलाई लक्षित गरिएको यो कोष ऐतिहासिक कदम भएको भन्दै व्यक्तिगत रूपमा १० हजार सहयोग गर्ने घोषणा गरे।

महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, ब्रडकास्टिङ एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष उज्ज्वल चौलागाईं, वरिष्ठ पत्रकार प्रताप विष्ट, पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान उपाध्यक्ष सम्झना कार्की लगायतले समेत सहयोग गर्ने घोषणा गरेका छन्। महासंघ मकवानपुरको कार्यसमितिबाट ११ हजार रुपैयाँ संकलन गरी कोषमा राखिएको छ।

यसै अवसरमा स्वास्थ्यकर्मी महासंघ मकवानपुरले स्यानिटरी प्याड र सुत्केरी महिला पत्रकारका लागि खाद्य सामग्री हस्तान्तरण गरेको थियो। त्यस्तै, सहयागी मन नेपालले ब्लड प्रेसर नाप्ने उपकरण उपलब्ध गराउनुका साथै प्रत्येक सुत्केरी महिला पत्रकारलाई ५ लिटर तेल उपलब्ध गराउने घोषणा गरेको छ।

यस कोषले मकवानपुरका महिला पत्रकारहरूको प्रजनन स्वास्थ्य र सुरक्षित सुत्केरी प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.