संघीयताको सकारात्मक प्रभाव फैलाउन नैतिक शिक्षा जरुरी-मुख्यमन्त्री बानियाँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीयता प्रति देखिएको नकारात्मक धारणा चिर्न नैतिक शिक्षा अपरिहार्य रहेको बताएका छन् ।

नेपाल स्काउट, बागमती प्रदेश स्काउट, महेन्द्र मावि र स्थानीय स्काउट हेटौंडा–१३ को संयुक्त आयोजनामा भाद्र १३ गतेदेखि सुरु भएको ५ दिने स्काउट ओ–रामा फेष्टिवल क्याम्प–२०८२ को उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री बानियाँले विद्यालयस्तरमै नैतिक शिक्षा अनिवार्य गर्नुपर्ने आवश्यकता औंल्याए । उनले कक्षा ८ सम्मको पाठ्यक्रममा नैतिक शिक्षा समावेश गर्न स्थानीय सरकारलाई आग्रह गरे ।

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने प्रवृत्ति बढिरहेको भन्दै उनले समाजलाई गतिशील र प्रगतिशील बनाउन अहिलेको व्यवस्था ल्याइएको स्मरण गराए । लामो संघर्षबाट आएको संघीयताप्रति भ्रम फैलाउनेहरुलाई परिणाममार्फत जवाफ दिनुपर्ने उनको भनाइ थियो । नयाँ पुस्तामा बढ्दो वितृष्णा चिर्न नेतृत्व तह जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए ।

मुख्यमन्त्री बानियाँले संघीयतापछि हेटौँडाको पदमपोखरी क्षेत्रमा देखिएको भौतिक तथा सामाजिक परिवर्तनलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै प्रदेश राजधानीलाई व्यवस्थित र विश्वासिलो बनाउन पदमपोखरीले महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

समारोहमा युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक एकालाल श्रेष्ठ, प्रदेशसभा सदस्य कुमारी मोक्तान, हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।

उक्त स्काउट ओ–रामा फेष्टिवल क्याम्प भाद्र १७ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.