कैलाशका लालकुमारको घर बन्ने, मुख्यमन्त्रीबाट दुई लाख सहयोग

मकवानपुर । कैलाश गाउँपालिकाका लालकुमार प्रजा चेपाङको सुरक्षित आवास बन्ने भएको छ । मकवानपुरको विकट मानिने कैलाश–४ धुस्राङ निवासी ५० वर्षीय लालकुमार लामो समयदेखि जीर्ण अवस्थामा रहेको घरमा बस्दै आएका थिए । आर्थिक अवस्था कमजोर भएकाले उनले घर मर्मतसमेत गर्न नसकेको गाउँपालिकाले जनाएको छ ।

०३२ सालमा जन्मिएका लालकुमारका सन्तान छैनन् । उपचारकै क्रममा सन्तान नहुने भएपछि उनी श्रीमती सानुमाया चेपाङसँगै बस्दै आएका छन् । सानै उमेरमा हात जलेर सानुमाया अल्प अपाङ्गताको अवस्थामा छन् । दम्पती खेतीपातीसँगै बाख्रा, कुखुरा पालेर जीविकोपार्जन गर्दै आएका छन् ।

कैलाश गाउँपालिकाले सुरक्षित आवास निर्माणका लागि बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई सिफारिस गरेको थियो । पालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सिफारिस पत्र बुझाएलगत्तै मुख्यमन्त्री बानियाँले पहिलो किस्ता स्वरुप दुई लाख रुपैयाँ प्रदान गरेका हुन् ।

अध्यक्ष मुक्तानले भने, “सन्तान पनि छैनन्, खरको छानो र काठपातले मात्र घेरिएको घर जीर्ण अवस्थामा थियो । त्यसैले लालकुमारलाई सुरक्षित आवास निर्माणका लागि छनोट गरी सिफारिस गरिएको हो ।”

सहयोग हस्तान्तरण कार्यक्रममा कैलाश गाउँपालिकाका विभिन्न वडाध्यक्ष तथा नेपाली कांग्रेसका स्थानीय नेताहरुको उपस्थिति रहेको थियो ।

यसअघि पनि मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका–९ की मिठुमाया सुनार र राक्सिराङ गाउँपालिका–१ का सुमनसिं प्रजाको घर निर्माणका लागि सहयोग गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.