हेटौंडा । चितवनको राप्ती नगरपालिकामा जारी दोस्रो संस्करणको हासु एफसी कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनल समीकरण तय भएको छ । राप्ती नगरपालिका–१, सिमरा खेलमैदानमा शुक्रबार सम्पन्न सेमीफाइनल खेलपछि उपाधि भिडन्त तय भएको हो ।
मकवानपुरको मनहरी गाउँपालिकाको सिम्पानी युथ क्लबले सेमीफाइनलमा बागमती प्रदेश प्रहरीगण हेटौंडालाई ३–० गोलले पराजित गर्दै फाइनलको यात्रा पूरा गरेको हो । खेलको सुरुवाती २ मिनेटमै विजय दोङले गोल गर्दै सिम्पानीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको २२ औं मिनेटमा अभिषेक स्याङ्तान र त्यसपछि रोशन दोङले लगातार गोल गर्दै जित सुनिश्चित गरेका थिए । सिम्पानीका अञ्जल बछार ‘म्यान अफ द म्याच’ घोषित भए ।
अब आइतबार हुने उपाधि भिडन्तमा आयोजक सिमरा युवा समाज र सिम्पानी युथ क्लब आमनेसामने हुनेछन् । यसअघि भएको पहिलो सेमीफाइनल खेलमा सिमरा युवा समाजले नेशनल स्पोर्टस् क्लबलाई २–० गोलले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
भदौ ३० गतेदेखि राप्ती नगरपालिका–१ वडा कार्यालयको संरक्षणमा तथा हासु एजुकेशन कन्सल्टेन्सीको प्रयोजनमा सुरु भएको प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रियका लागि खेलकुद’ भन्ने मूल नाराका साथ प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
विजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ । तेस्रो हुने टोलीलाई १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरलाई समेत ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
सिम्पानी युथ क्लब यसअघि पहिलो संस्करणको पनि विजेता बनेको थियो ।




































