हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखा र मकवानपुर सहकारी अस्पतालबीच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार महासंघमा आबद्ध पत्रकार सदस्यहरूले अस्पतालमा निःशुल्क ओपीडी, शल्यक्रिया तथा भर्ना गरेर गरिने उपचार सेवा पाउने भएका छन् ।
शनिबार महासंघको हलमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष बालकृष्ण अधिकारी र अस्पतालका अध्यक्ष नरोत्तम दाहालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार पत्रकारहरूले ल्याब परीक्षण, रेडियोलोजी लगायतका अन्य परीक्षण पनि निःशुल्क प्राप्त गर्नेछन् भने औषधी खरिदमा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । यसबारे जानकारी महासंघका सचिव केशव समर्पण सुवेदीले दिएका छन् ।
उपचार सेवा लिनका लागि महासंघका सदस्यहरूले आफ्नो सदस्यता प्रमाणपत्र अनिवार्य प्रस्तुत गर्नुपर्नेछ । प्रारम्भिक चरणमा यो सम्झौता तीन वर्षका लागि लागू हुने गरी गरिएको हो । सक्रिय पत्रकारहरूको स्वास्थ्य पहुँचलाई सहज बनाउन र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले सम्झौता गरिएको अस्पताल सञ्चालन समितिका सचिव अर्जुन विडारीले बताए ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखामा हाल ११७ जना सदस्य आवद्ध रहेका छन् । सम्झौता हस्ताक्षरसँगै कार्यक्रममा महान् चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको थियो । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारू मगर, महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण शर्मा अधिकारीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा सहकारी अस्पतालका प्रतिनिधिहरू, महासंघका पूर्व अध्यक्षहरू, पत्रकार निकट सङ्गठनका प्रतिनिधि तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।



































