प्रतिनिधिसभा सदस्य चुनावका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने दलहरूलाई निवेदन दिन निर्वाचन आयोगले आह्वान गरेको छ ।
आज सूचना निकाल्दै यो प्रणालीतर्फको कार्यक्रम भोलिदेखि शुरू हुने भएकाले स्वीकृत निर्वाचन कार्यक्रमअनुसार पर्सि बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेसम्म प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेश आग्रह गरेको हो ।
आयोगले गत आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि आयोगको कान्तिपथमा रहेको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।
यस प्रणालीका लागि आयोगका सचिव महादेव पन्थलाई निर्वाचन अधिकृत तोकिएको छ । आयोगले मङ्सिर २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निवेदन पेश गर्ने राजनीतिक दलको नामावली प्रकाशन गर्नेछ ।
यसरी आवेदन दिएका राजनीतिक दलले आउँदो पुस १३ र १४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेश गर्ने समयसीमा तोकिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।






















































