हेटौंडा–९ प्रगति चोकमा सवारी दुर्घटना, ७ जना घाइते

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ प्रगति चोक नजिकै पूर्व–पश्चिम सडकखण्डमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा सात जना घाइते भएका छन्।

बिहान करिब ९ः४५ बजे हेटौंडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००१ ज ०१११ नम्बरको ईभी गाडीले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३–००६ प ९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। ठक्करपछि नियन्त्रण गुमाएको ईभी गाडीले हेटौंडातर्फ आउँदै गरेको बा १७ च ४२७२ नम्बरको स्कार्पियो पिकअपलाई समेत ठोक्काएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा ईभी गाडी, स्कुटर र स्कार्पियो पिकअप गरी तीनवटै सवारी साधनमा क्षति पुगेको छ। घाइते सबैको अवस्था सामान्य रहेको र विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

हेटौंडा अस्पतालमा उपचाररत घाइतेमध्ये ईभीमा सवार हेटौंडा–४ कर्राकी ३७ वर्षीया सरस्वती राणाको बायाँ हातमा चोट लागेको छ। स्कार्पियो पिकअपमा सवार भोजपुर षडानन्द नगरपालिका–१० का ६६ वर्षीय हेमसाङ तामाङको टाउकोमा चोट लागेको छ भने उनकी ५९ वर्षीया पत्नी राजकुमारी तामाङको दुवै खुट्टामा चोट पुगेको छ।

यस्तै, मकवानपुर सहकारी अस्पतालमा उपचारका लागि ल्याइएका घाइतेमध्ये ईभी चालक हेटौंडा–१५ रातोमाटेका २५ वर्षीय सुमन लामा घटनास्थलमै बेहोस भए पनि अस्पताल पुर्‍याएपछि होसमा आएका थिए। ईभीमा सवार मकवानपुरगढी गाउँपालिका–५ भालुखोलाका ७८ वर्षीय टिका प्रसाद तिमिल्सिनाको निधारमा चोट लागेको छ। स्कुटर चालक हेटौंडा–९ का ३९ वर्षीय दीपक रुम्बा दाहिने खुट्टामा चोट लागेर घाइते भएका छन् भने स्कुटरको पछाडि सवार उनकी ५ वर्षीया छोरी ग्रेसी रुम्बाको टाउकोमा चोट लागेको छ।

दुर्घटनापछि पशुपतिनगर इलाका प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक प्रकाश केसीको नेतृत्वमा ट्राफिकसहितको टोली घटनास्थलमा खटिएको थियो। हाल दुर्घटनामा संलग्न तीनवटै सवारी साधन इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.