कक्षा १२ वार्षिक परीक्षा: आवेदन प्रक्रिया औपचारिक रूपमा खुला

राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाका लागि आवेदन फाराम भर्ने प्रक्रिया सुरु गरेको छ। बोर्डले मंगलबार सूचना जारी गर्दै शैक्षिक सत्र २०८२/०८३ का नियमित तथा आंशिक परीक्षार्थीहरूलाई निर्धारित समयभित्र आवेदन दिन आग्रह गरेको हो।

सूचनाअनुसार साधारण शुल्कमा आवेदन दिन चाहने विद्यार्थीले २०८२ पुस मसान्तसम्म फाराम बुझाउनुपर्नेछ भने सो समयसीमा नाघेपछि माघ १५ गतेसम्म विलम्ब शुल्कसहित आवेदन दिन सकिनेछ। नियमित परीक्षार्थीको हकमा रजिस्ट्रेसन नम्बरको सुरुका दुई अंक ८२ हुनुपर्ने, कक्षा ११ को सैद्धान्तिक परीक्षामा कम्तीमा ‘डी’ र आन्तरिक मूल्याङ्कनमा ‘सी’ ग्रेड हासिल गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।

बोर्डले परीक्षा शुल्क प्रति विद्यार्थी ८०० रुपैयाँ तोकेको छ भने ढिलो आवेदन दिनेले दोब्बर शुल्क अर्थात् १६०० रुपैयाँ तिर्नुपर्नेछ। विज्ञान, होटल म्यानेजमेन्टजस्ता बाह्य परीक्षक आवश्यक पर्ने विषयमा अतिरिक्त प्रयोगात्मक शुल्कसमेत लाग्ने जनाइएको छ। साथै, सम्बन्धित विद्यालयहरूले २०८२ चैत ३० गतेभित्र प्रयोगात्मक परीक्षा सम्पन्न गरी वैशाख १५ गतेभित्र प्राप्ताङ्क बोर्डमा पठाइसक्नुपर्नेछ।

आंशिक परीक्षार्थीहरूले आफूले पहिले नियमित परीक्षा दिएको विद्यालयबाटै आवेदन दिनुपर्नेछ भने विषय छनोटमा त्रुटि भए आवेदन स्वतः खारेज हुने बोर्डले चेतावनी दिएको छ।

यस वर्ष आवेदन प्रणालीलाई थप सहज बनाउँदै बोर्डले अनलाइन पोर्टलमार्फत विवरण प्रविष्ट गर्ने र डिजिटल माध्यमबाटै शुल्क तिर्न सकिने व्यवस्था मिलाएको छ। विद्यार्थीले विद्यालयबाट प्रमाणित कक्षा ११ को ग्रेडसिट र रजिस्ट्रेसन कार्डको प्रतिलिपि संलग्न गरी फाराम भर्नुपर्नेछ।

विद्यालयहरूले विद्यार्थीबाट प्राप्त विवरण रुजु गरी तोकिएको समयभित्र बोर्डको अनलाइन प्रणालीमा दर्ता गर्नुपर्नेछ। कनेक्ट आईपीएस, ई–सेवा र खल्ती जस्ता डिजिटल वालेटमार्फत शुल्क भुक्तानी गर्न सकिने भएपछि बैंकमा लामो लाइन बस्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.