प्रगति माध्यमिक विद्यालय, हेटौंडा–९ मा शनिबार शिक्षक तथा पूर्वविद्यार्थी भेला हुँदै

हेटौंडा–९ स्थित प्रगति माध्यमिक विद्यालयले शिक्षक, कर्मचारी तथा पूर्वविद्यार्थीहरुको भेला शनिबार आयोजना गर्ने भएको छ । विद्यालय स्थापनाको ५० औं वर्ष पूरा भएको अवसरमा माघ ६ देखि ९ गतेसम्म सञ्चालन हुने स्वर्ण जयन्तीका कार्यक्रमलाई सफल बनाउन भेला आयोजना गरिएको प्रधानाध्यापक किशोर पराजुलीले बताए ।

विद्यालयले बिहीबार पूर्वविद्यार्थी तथा पत्रकारिता क्षेत्रमा क्रियाशील व्यक्तिहरुसँग अनौपचारिक छलफल गर्दै भेलाबारे जानकारी गराएको हो । समारोह सफल बनाउन सुझाव संकलन, अनुभव आदानप्रदान, शिक्षक–विद्यार्थी पुनर्मिलन र चियापन कार्यक्रम समावेश गरिएको उनले जानकारी दिए ।

भेला शनिबार बिहान ८ बजेदेखि सुरु हुनेछ । २०३२ सालमा औपचारिक मान्यता प्राप्त गरी सञ्चालनमा आएको विद्यालयले सरस्वती पूजाको दिन विशेष कार्यक्रमसहित स्वर्ण जयन्ती मनाउने तयारी गरेको छ । साथै, पुष २६ र २७ गते महिला शिक्षक भलिबल प्रतियोगिता पनि आयोजना गरिने विद्यालयले जनाएको छ ।

स्वर्ण जयन्तीका अवसरमा जिल्ला स्तरीय शिक्षक सम्मेलन, विद्यार्थी लक्षित साहित्यिक कार्यक्रम, स्मारिका प्रकाशन तथा सांस्कृतिक कार्यक्रम गर्ने तयारी रहेको छ । यसका लागि विद्यालयले पूर्वविद्यार्थी, शिक्षक, कर्मचारी र शुभेच्छुकहरुसँग सहयोगको अपिल गरेको छ ।

प्राप्त सहयोगबाट विद्यालयका पहिलो प्रधानाध्यापक राधा देवी शाहको प्रतिमा निर्माण गर्ने र अक्षय कोष स्थापना गरी गरिब तथा असहाय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने योजना रहेको पराजुलीले बताए । स्वर्ण जयन्ती कार्यक्रमका लागि करिब ७–८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.