पचास वर्षको शैक्षिक यात्रा: सिद्धार्थ माविले स्वर्ण जयन्ती मनाउँदै

हेटौँडा सिद्धार्थ माध्यमिक विद्यालयले स्थापनाको ५० औँ वर्ष प्रवेशको अवसरमा स्वर्ण जयन्ती मनाउने भएको छ। विद्यालयले आगामी माघ २ गतेदेखि ८ गतेसम्म विभिन्न शैक्षिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रममार्फत स्वर्ण जयन्ती उत्सव मनाउने तयारी गरेको हो।

स्वर्ण जयन्तीको तयारीस्वरूप विद्यालयले शनिबार विद्यालयको सभाहलमा पूर्व विद्यार्थी, पूर्व शिक्षक तथा कर्मचारीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। अन्तरक्रियामा सहभागीहरूले विद्यालयको विगत, वर्तमान र भविष्यलाई जोड्ने गरी सबै पक्षको अपनत्व झल्किने खालको स्वर्ण जयन्ती मनाउनुपर्ने सुझाव दिएका छन्। साथै, विद्यालयको दीर्घकालीन विकास योजनाको स्पष्ट खाका तयार गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए।

कार्यक्रममा पूर्व विद्यार्थी एवं बागमती प्रदेश सरकारका पूर्वमन्त्री एकालाल श्रेष्ठले सिद्धार्थ मावि यस क्षेत्रकै गौरवको शैक्षिक संस्थाका रूपमा स्थापित भएको उल्लेख गर्दै स्वर्ण जयन्ती समारोहलाई स्मरणीय बनाउन सबैको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णले स्वर्ण जयन्तीका अवसरमा सञ्चालन गरिने कार्यक्रमहरूको विस्तृत जानकारी गराउनुभएको थियो।

स्वर्ण जयन्ती आयोजक मूल समारोह समितिका संयोजक तथा हेटौँडा उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय सञ्चालक समितिका पूर्व अध्यक्ष एवं नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, पूर्व विद्यार्थी तथा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, सहायक प्रधानाध्यापक रामशरण अधिकारी, पूर्व प्रधानाध्यापक मोहन शर्मालगायत पूर्व विद्यार्थी, पूर्व शिक्षक र कर्मचारीहरूले स्वर्ण जयन्ती समारोह सफल बनाउने विषयमा आफ्ना सुझाव र धारणा राखेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.