नेपाल प्रहरीको प्राविधिक तर्फ रहेका दुईवटा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पद जनपद समूहतर्फ ल्याउने गृह मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले सहमत जनाएको छ ।
गृह मन्त्रालयले प्रस्ताव गरेको प्रहरीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) मा अर्थ मन्त्रालयले सहमति दिएको छ । ओएण्डएम अनुसार केनाइन कार्यालय र सवारी महाशाखामा रहेका एसएसपीको दरबन्दी जनपद समूहतर्फ स्थानान्तरण हुने भएको छ । साथै, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा कार्यरत प्रहरी कर्मचारीलाई पनि अन्यत्र स्थानान्तरण गर्न अर्थ मन्त्रालयले सहमति जनाएको छ ।
अर्थको सहमतिसहित आएको फाइल निर्णयका लागि मन्त्रिपरिषद्मा पेस भइसकेको गृह मन्त्रालय स्रोतले जनाएको छ । ओएण्डएम समितिले पुलचोकस्थित सम्पत्ति शुद्धीकरण विभागमा कार्यरत प्रहरीलाई केन्द्रीय अनुसन्धान ब्युरोअन्तर्गतको महाशाखामा सार्ने प्रस्ताव गरेको थियो ।
त्यसैगरी, प्रहरी अस्पतालमा अन्य तहको दरबन्दी घटाएर डीएसपी र एसपीको दरबन्दी बढाउने तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत फरेन्सिक विज्ञलाई प्रहरी प्रधान कार्यालयमा ल्याउने प्रस्तावमा पनि सहमति दिइएको छ ।
मङ्सिर ८ मा बसेको मन्त्रिपरिषद्ले प्रहरीको ओएण्डएम सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको थियो ।






















































