मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको छ। यसका कारण पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी क्षेत्रमा मौसम प्रायः सफा रहेको छ। तराईका धेरै स्थानमा भने हुस्सु र कुहिरो लागेको छ।
आज दिउँसो पनि तराई क्षेत्रमा हुस्सु र कुहिरो कायमै रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने अनुमान छ भने पहाडी तथा हिमाली भूभागमा मौसम आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहेको छ।
महाशाखाले हल्का वर्षा, हिमपात र तराईको हुस्सुले दैनिक जनजीवन, स्वास्थ्य, पर्यटन तथा सडक यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।



































