हेटौंडा । हेटौंडास्थित फुल कन्ट्याक्ट क्योकुशिन करातेका खेलाडीहरू भारत प्रस्थान गरेका छन्। भारतको आसाम राज्यको गुवाहाटीमा आयोजना हुने चौथो अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते प्रतियोगितामा सहभागी हुन हेटौंडाका ८ जना खेलाडी तथा अफिसियलहरू त्यसतर्फ गएका हुन्।
प्रतियोगितामा सहभागी हुने टोलीलाई मकवानपुर जिल्ला खेलकुद विकास समिति तथा हेटौंडा उपमहानगरपालिका–१८ नं. वडा कार्यालयले संयुक्त रूपमा बिदाइ गरेको छ।
टोलीमा रेफ्रीका रूपमा सीता श्रेष्ठ र अमृत सुनार रहेका छन् भने खेलाडीहरूमा रोहित थापा, रिदम थापा, ज्योति लुङ्बा, सबिना आले, रेश्मा थापा र शशिप्रसाद बी.के. सहभागी छन्।
पुस २६ र २७ गते सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न देशका खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
बिदाइ कार्यक्रममा वडा अध्यक्ष अनिल बानियाँ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राज मुक्तान, पूर्व अध्यक्ष सानु लामा, क्योकुशिन संघका जिल्ला अध्यक्ष बुद्धिनाथ न्यौपाने, मुख्य प्रशिक्षक विष्णु श्रेष्ठलगायतले खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरेका थिए।



































