हेटौँडा । मकवानपुरको हेटौंडामा एलपी ग्यास प्रयोगबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि सहारा ग्यास इन्डस्ट्रिज (प्रा.) लि. ले आज म्याद गुज्रिएका तथा प्रयोग गर्न अनुपयुक्त एलपी ग्यास सिलिन्डर नष्ट गरेको छ। एलपी ग्यास अत्यन्तै ज्वलनशील पेट्रोलियम पदार्थ भएकाले यसको उत्पादन, रिफिल, भण्डारण तथा वितरणमा उच्च सतर्कता अपनाउनुपर्ने कम्पनीले जनाएको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार हाइड्रो टेस्ट फेल भएका, बिग्रिएका, च्यातिएका, फुटेका तथा नेकरिङ खराब भएका सिलिन्डरहरू उद्योगको आन्तरिक सुरक्षानितिअनुसार नष्ट गरिएको हो।
यस सन्दर्भमा सहारा ग्यास इन्डस्ट्रिज (प्रा.) लि. का प्रबन्धक खड्का थापाले उपभोक्ता सुरक्षालाई पहिलो प्राथमिकता दिइएको स्पष्ट पारे। उनले भने,
“एलपी ग्यास अत्यन्तै संवेदनशील र ज्वलनशील पदार्थ भएकाले जोखिमपूर्ण, म्याद गुज्रिएका तथा प्रयोग गर्न नमिल्ने सिलिन्डरलाई बजारमा जान दिनु हुँदैन। उपभोक्ताको ज्यान–धनको सुरक्षाका लागि हामीले आज यस्ता सिलिन्डरहरू नष्ट गरेका हौँ।”
थापाका अनुसार उपभोक्ताको भान्सासम्म सुरक्षित रूपमा ग्यास पुर्याउनु उद्योगको मुख्य जिम्मेवारी हो। “गुणस्तर र सुरक्षामा कुनै पनि किसिमको सम्झौता नगर्ने हाम्रो नीति छ,” उनले थपे।
सहारा ग्यासले उपभोक्तालाई सिलिन्डर प्रयोग गर्दा सतर्क रहन, अस्वाभाविक अवस्था देखिएमा तुरुन्त ग्यास कम्पनी वा सम्बन्धित निकायलाई जानकारी गराउन समेत आग्रह गरेको छ।
यही क्रममा २०७९ मा सहारा ग्यास ब्रान्डका ६३७ थान सिलिन्डर नष्ट गरिएको र यस बर्ष पनि आज ७३६ थान सिलिन्डर नष्ट गरिएको कम्पनीका प्रबन्धक बताए ।
सहारा ग्यास इन्डस्ट्रिज (प्रा.) लि. हेटौँडा–३, बसामाडी, मकवानपुरमा अवस्थित छ।




































