नेपाली कांग्रेसले देशभरका कार्यालय भोलि (आइतबार) बन्द गर्ने निर्णय

नेपाली कांग्रेसले पूर्वमन्त्री, वरिष्ठ पत्रकार तथा पार्टीका नेता होमनाथ दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष शोक कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको छ।

शनिबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले दिवंगत नेता दाहालको सम्मानमा केन्द्रदेखि जिल्ला तहसम्म शोक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकका अनुसार पुस २६, २७ र २८ गतेसम्म पार्टीका सबै केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा झण्डा आधा झुकाइनेछ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको शोक प्रस्ताव बैठकले सर्वसम्मत रूपमा पारित गरेको जानकारी दिँदै पुस २७ गते आइतबार देशभरका सबै पार्टी कार्यालय बन्द रहने बताए। साथै, नेता दाहालको योगदानको कदरस्वरूप स्वर्गारोहणको १३ दिनसम्म पार्टीका सबै तहका कार्यालयमा शोक पुस्तिका राखिने निर्णय पनि गरिएको छ।

शोकको १३ औं दिनमा दाहालको गृहजिल्ला ओखलढुंगामा विशेष शोक सभाको आयोजना गरिने कांग्रेसले जनाएको छ।

वरिष्ठ पत्रकार दाहाल पत्रकारिता र प्रजातान्त्रिक आन्दोलनका अथक योद्धाका रूपमा परिचित थिए। मन्त्री तथा पार्टी नेताका रूपमा उनले पार्टी संगठन सुदृढीकरण र लोकतान्त्रिक अभ्यास मजबुत बनाउन उल्लेखनीय योगदान पुर्‍याएका थिए। उनको निधनले नेपाली कांग्रेस र समग्र पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको निष्कर्ष बैठकले निकालेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.