कम्युनिष्ट राजनीतिमा नयाँ अनुहार, बारा क्षेत्र नं. ४ मा अजय कुशवाहाको उदय

समाजवादी आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित अघि बढिरहेको दाबी गर्दै आएको नेपाली कम्युनिष्ट पार्टीले बारा निर्वाचन क्षेत्र नं. ४ मा जेन–जी पुस्ताका युवा नेतालाई चुनावी मैदानमा उतार्ने संकेत गरेको छ।

नेपाली कम्युनिष्ट पार्टी बारा जिल्ला समितिले क्षेत्र नं. ४ बाट तत्कालीन नेकपा (माओवादी) का नेता किरण साह र तत्कालीन नेकपा (एकीकृत समाजवादी) का युवा नेता अजय कुशवाहाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ। पार्टी एकीकरणपछि दुवै नेता हाल नेपाली कम्युनिष्ट पार्टीमै आबद्ध छन्।

किरण साह पुरानो र अनुभवी नेताका रूपमा परिचित भए पनि युवा तथा स्थानीय मतदाताबीच अजय कुशवाहाको नाम बढी चर्चामा रहेको छ। कुशवाहा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त बास्केटबल खेलाडीसमेत हुन्। पार्टी एकताअघि उनी एकीकृत समाजवादी बारा–काठमाडौं सम्पर्क समितिका अध्यक्ष थिए।

उनको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक रहेको छ। साथै, माधवकुमार नेपाल तथा पार्टी संयोजक पुष्पकमल दाहाल निकट युवा नेताका रूपमा चिनिँदै आएका कारण प्रत्यक्षतर्फको टिकट पाउने सम्भावना बलियो रहेको पार्टीभित्र चर्चा छ।

जेन–जी आन्दोलनपछि जनताको आकर्षण नयाँ पुस्तातर्फ बढ्दै गएको र त्यसैअनुसार पार्टीले पनि युवा उम्मेदवार अघि सार्ने तयारी गरिरहेको नेपाली कम्युनिष्ट पार्टी बारा स्रोतले जनाएको छ।

यसैबीच, बारा क्षेत्र नं. ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट टिकट पाए प्रत्यक्षतर्फ उम्मेदवार बन्ने इच्छा होटल व्यवसायी इच्छावाग्लेले व्यक्त गरेका छन्। तर हालसम्म त्यसबारे कुनै टुंगो लागेको छैन। रास्वपाबाट साकिल अधिकारीको नाम पनि चर्चामा रहेको छ। नेपाली कांग्रेसबाट श्यामबाबु गुप्ता तथा नेकपा एमालेबाट किसान श्रेष्ठ उम्मेदवार बन्ने लगभग पक्का भएको बताइन्छ।

यस क्षेत्रबाट विभिन्न दलहरूले अघि सारेका अधिकांश नामहरू पुरानै र केही उम्मेदवारहरू पहिले नै परीक्षण भइसकेका भएकाले नेपाली कम्युनिष्ट पार्टीले नयाँ पुस्ताका युवा नेता अजय कुशवाहालाई उम्मेदवार बनाएको खण्डमा चुनावी प्रतिस्पर्धामा बाजी मार्न सक्ने बारा क्षेत्र नं. ४ को राजनीतिक विश्लेषण रहेको छ।

पार्टीले नाम सिफारिस गरेसँगै युवा नेता कुशवाहाले उच्च मनोबलका साथ चुनावी मैदानमा होमिन आफू तयार रहेको प्रतिक्रिया दिएका छन्। उनले जनताको रुचि युवा पुस्तातर्फ केन्द्रित रहेको र आफूले नयाँ एजेन्डासहित चुनावी प्रतिस्पर्धा गर्ने भन्दै पार्टीले विश्वास गरे जित सुनिश्चित गर्ने दाबी गरे।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.