नेकपाको पार्टी एकता सन्देश कार्यक्रम हेटौँडामा सम्पन्न

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले हेटौँडा उपमहानगरपालिकाका वडा नं. ११, १२ र ४ मा पार्टी एकता सन्देश कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पार्टीका नेताहरूले वैचारिक स्पष्टता र राष्ट्रिय स्वाधीनताको विषयमा धारणा राखेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेशसभा सदस्य कुमारी मुक्तानले वैचारिक आधार कमजोर हुँदा मुलुकमा आमूल परिवर्तन सम्भव नहुने बताइन्। उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै व्यक्तिकेन्द्रित राजनीतिले देशलाई क्षति पुगेको आरोप लगाइन्।

हेटौँडा–११ मा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर तथा बागमती प्रदेश अध्यक्ष ललितबहादुर घलानले अघिल्ला सत्तासीन दल र नेताहरूले देशलाई बाह्य शक्तिको प्रभावमा राख्न खोजेको आरोप लगाए। उनले युक्रेन, भेनेजुएला र बंगलादेशको उदाहरण दिँदै नेपाललाई कठपुतली बनाउन खोजिएको दाबी गरे।

यस्तै, अर्का वक्ता कमलचन्द्र सुमनले राजनीतिक संस्कारमा सुधार आवश्यक रहेको उल्लेख गरे। उनले एकअर्कालाई दोषारोपण गर्दै भोट माग्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए। साथै, केही नेताहरू चुनाव नजिकिँदै गर्दा विदेशी भ्रमणमा व्यस्त हुनु गलत संकेत भएको उनको भनाइ थियो।

कार्यक्रममा नेकपा नेता विजय गौतम, विष्णुमाया लामा, विवेक राई, प्रदीप अर्याल, देवनारायण चौलागाईं, रामकृष्ण बस्नेत, सूर्यबहादुर थिङ, सुक्रराज लामा, देवकृष्ण थोकर, मधुकुमार थापामगरलगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.