छिमेकी मुलुक भारतमा अन्तर्राष्ट्रिय फुलकन्ट्याक्ट क्योकुशिन कराँते प्रतियोगिता सम्पन्न भएको छ। शनिबार र आइतबार गरी दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिता भारतको आसाम राज्यको गुहाटीमा आयोजना गरिएको हो।
प्रतियोगितामा नेपालको तर्फबाट मकवानपुरका ६ जना खेलाडी सहभागी भएका थिए। तीमध्ये ३ जनाले स्वर्ण, २ जनाले रजत र १ जनाले काँस्य पदक जित्न सफल भएको मकवानपुर जिल्लाका कराँते प्रशिक्षक विष्णु श्रेष्ठले जानकारी दिएका छन्।
महिलातर्फ ५५ केजी तौल समूहमा सविना आले र उमेर समूहमा रेश्मा थापाले स्वर्ण पदक जितेका छन्। पुरुषतर्फ उमेर समूहमा रिदम थापाले स्वर्ण पदक हात पारेको प्रशिक्षक श्रेष्ठले बताए।
त्यसैगरी, सहशी विश्वकर्माले ५५ केजी तौल समूहमा रजत पदक जित्दा महिलातर्फ उमेर समूहमा ज्योति लुङ्बाले पनि रजत पदक दिलाएकी छन्। रोहित थापाले भने ६० केजी तौल समूहमा काँस्य पदक हासिल गरेका छन्।
आइकेओ क्योकुशिन वर्ल्ड वे इन्डिया तथा क्योकुशिन काइ कान कराँते संघ असमको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा ५० केजीदेखि खुला तौल समूहसम्मका खेलाडीहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा भारतसहित नेपाल, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र अफगानिस्तानका खेलाडीहरूको उपस्थिति रहेको थियो।





















































