आठौँ मकवानपुरगढी फुट्सल रनिङशीलको ट्रफी आयोजक टोलीको पोल्टामा

मकवानपुरगढी, असार २ – आयोजक मकवानपुरगढी–३ ले आठौँ मकवानपुरगढी फुट्सल रनिङशील प्रतियोगिताको उपाधि जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा मकवानपुरगढी–२ खेलकुद विकास समितिलाई ७–० गोलअन्तरले पराजित गर्दै आयोजक टोली च्याम्पियन बनेको हो।

उपाधिसँगै मकवानपुरगढी–३ ले ७५ हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको मकवानपुरगढी–२ खेलकुद विकास समितिले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

प्रतियोगितामा आयोजक टोलीका निखिल गोले ११ गोलसहित सर्वाधिक गोलकर्ता घोषित भए भने दुर्लभ दुलाल ‘बेस्ट प्लेयर अफ द टुर्नामेन्ट’ चुनिए।

समापन समारोहका प्रमुख अतिथि मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछानेले खेलकुद युवाको आकर्षण र सम्भावनाको महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्न गाउँपालिकाले आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्रतियोगिताको निरन्तरता र खेलकुद विकासका लागि बजेट वृद्धि गरिने समेत बताए।

विशेष अतिथि वडा नम्बर–३ का अध्यक्ष भागवत घिमिरेले प्रतियोगिताले स्थानीय खेलाडीको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै खेललाई मनोरञ्जनमा मात्र सीमित नराखी व्यावसायिक खेलाडी उत्पादनतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे। उनले खेल मैदान विकास र खेलाडी प्रोत्साहनका कार्यक्रमलाई आगामी वर्षहरूमा पनि प्राथमिकतामा राखिने बताए।

आइतबारदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो। प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाले २ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो।

आयोजक समितिका अध्यक्ष अष्टमान थोकरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख रामबहादुर घलान, वडा सदस्यहरू प्रेमबहादुर थोकर र बिदुर हुमागाईं, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

मकवानपुरगढी–३ स्थित भानु माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनल खेल हेर्न दर्शकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.