बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय पछिल्लो पाँच महिनायता प्रशासनिक अस्थिरतामा फसेको छ। यस अवधिमा मन्त्रालयमा चार जना सचिव फेरिएका छन्।
मन्त्रीसँगको समन्वय नमिल्नु, ट्याक्सी मापदण्ड र ट्रायल सेन्टर टेन्डर जस्ता नीतिगत विषयमा विवाद चुलिँदा सचिवहरूको छिटो–छिटो सरुवा भएको देखिन्छ।
साउन २० मा इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बनेपछि जयराम थापाले मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। त्यसयता सचिव सरुवाको क्रम सुरु भएको हो।
वीरेन्द्रदेव भारती, बलराम ढकाल र रामबाबु पुरीजस्ता सचिवहरू छोटो समयमै सरुवा भए। पछिल्लो पटक पुस १६ गते रामबाबु पुरीलाई हटाएर हेमराज भुसाललाई नयाँ सचिवका रूपमा ल्याइएको छ।
ट्रायल सेन्टर खरिद प्रक्रिया र ट्याक्सी मापदण्डलाई लिएर मन्त्री र सचिवबीचको टकरावले मन्त्रालयको कामकाज प्रभावित बनेको छ। यस विषयमा सर्वोच्च अदालत र अख्तियारले समेत चासो देखाइसकेका छन्।






















































