नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र बनाएको छ। त्यसै क्रममा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार चयन गर्न पार्टीले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार सचिवालय बैठक शनिबार दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा जिल्ला र प्रदेश कमिटीबाट सिफारिस भई आएका नामहरूमाथि छलफल गरी प्रत्येक निर्वाचन क्षेत्रका लागि एक जनालाई अन्तिम उम्मेदवारका रूपमा चयन गरिनेछ।
पार्टीले यसअघि प्रत्येक क्षेत्रमा कम्तीमा दुई जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो, जसमा अनिवार्य रूपमा एक महिला उम्मेदवार समावेश गर्न भनिएको छ। निर्वाचन आयोगको कार्यतालिकाअनुसार यही माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता हुँदैछ।
यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसभित्र देखिएको विभाजनले देशको प्रजातान्त्रिक अभ्यासमा नकारात्मक असर पार्ने चेतावनी दिनुभएको छ। शुक्रबार काठमाडौंमा आयोजित एमालेको राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेस विभाजनको अवस्थामा पुग्नु मुलुकका लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नुभयो।
उहाँले विशेष महाधिवेशनका नाममा पार्टी विधानको उपेक्षा गर्दै सडकबाट बहुमत देखाउने प्रयासले लोकतन्त्रलाई कमजोर बनाउने र समाजलाई अराजकतर्फ धकेल्ने खतरा रहेको जिकिर गर्नुभयो। साथै, एमालेभित्र लोकतान्त्रिक अभ्यास सशक्त रहेको दाबी गर्दै अध्यक्ष ओलीले पार्टीको निर्णय प्रक्रिया छरितो र प्रभावकारी रहेको उल्लेख गर्नुभयो।






















































