आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता आजदेखि नेपालमा सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने उद्घाटन खेलमा घरेलु टोली नेपालले आज थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समयअनुसार बिहान ९ बजे सुरु हुनेछ।
प्रतियोगिताप्रति नेपाली टोली उत्साहित देखिएको छ। टोलीकी कप्तान इन्दु बर्माले १८ वर्षपछि नेपालले यति ठूलो प्रतियोगिता आयोजना गर्न पाएकामा खुशी व्यक्त गर्दै अभ्यास खेलबाट धेरै कुरा सिक्ने अवसर मिलेपछि टोलीको मनोबल उच्च रहेको बताइन्। उनले यो प्रतियोगिता नेपाली महिला क्रिकेट मात्र होइन, आगामी पुस्ताका लागि पनि महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन्।
आजै प्रतियोगिताअन्तर्गत थप दुई खेल पनि हुनेछन्। मुलपानी क्रिकेट मैदानमा आयरल्यान्ड र पपुवा न्यू गिनीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ भने बङ्गलादेश र अमेरिकाबीचको खेल दिउँसो १ बजे हुनेछ। प्रतियोगिताका खेलहरू त्रिवि मैदान र माथिल्लो मुलपानी मैदानमा आयोजना गरिनेछन्।
समूह चरणमा नेपालका चारै खेल त्रिवि मैदानमै हुनेछन्। तालिकाअनुसार नेपालले माघ ४ गते थाइल्यान्डसँग, माघ ८ गते नेदरल्यान्ड्ससँग, माघ १० गते जिम्बावे र माघ १२ गते स्कटल्यान्डसँग खेल्नेछ।
१० टोली सहभागी यो प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ। दुवै समूहबाट शीर्ष तीन टोली ‘सुपर–सिक्स’ चरणमा पुग्नेछन्। ‘सुपर–सिक्स’बाट उत्कृष्ट चार टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने आईसीसी महिला टी–२० विश्वकपमा छनोट हुनेछन्।






















































