तामाङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा पश्चिम मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिइएको छ। मन्जुश्री सम्वत् २८६२ (ता ल्हो र घोडा वर्ग) अनुसार मनाइने यस पर्वका अवसरमा यही माघ ४ र ५ गते गाउँपालिका भित्र सार्वजनिक बिदा रहनेछ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले मंगलबार शुभकामना सन्देश जारी गर्दै माघ ५ गते पर्ने माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार हर्षोल्लासपूर्वक मनाइने जानकारी दिनुभयो। उहाँले यो पर्वले बहुभाषिक, बहुधार्मिक तथा बहुसाँस्कृतिक राक्सिराङ्ग गाउँपालिकामा सामाजिक सद्भाव, एकता र आपसी भाइचाराको भावना बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ।
तामाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ्गमा पर्वलाई उल्लासपूर्ण रूपमा मनाउन सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ। बिदाका दिन गाउँपालिका अन्तर्गतका सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक संघसंस्था तथा बैंक तथा वित्तीय संस्थाहरू बन्द रहनेछन्।





































