तामाङ समुदायको नयाँ वर्षका रूपमा मनाइने २८६२ औँ सोनाम ल्होसार पर्व मकवानपुरमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित हर्षोल्लासका साथ मनाइँदै छ। देशभर जस्तै मकवानपुरका तामाङ समुदायले पनि यो पर्वलाई विशेष उत्साहका साथ मनाएका छन्।
मकवानपुरको सदरमुकाम हेटौंडासहित विभिन्न स्थानीय तहमा परम्परागत नृत्य, सांस्कृतिक झाँकी तथा धार्मिक कार्यक्रम आयोजना गरिएको छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइने सोनाम ल्होसार तामाङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो।
सोनाम ल्होसारलाई १२ वटा पशुपन्छीका वर्षमा विभाजन गरिएको छ, जसमा मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर पर्दछन्। आजबाट सर्प वर्ष समाप्त भई घोडा वर्षको सुरुवात भएको छ।
अनुसन्धाताका अनुसार पशुपन्छीका नामबाट वर्ष गणना गरिनु तामाङ समुदायको प्रकृतिपूजक संस्कृतिको प्रतिविम्ब हो। तामाङ जातिको बाहुल्यता रहेको बाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइने गरिन्छ।
यस अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले काठमाडौँको बौद्ध क्षेत्रमा समेत विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने जनाएको छ।
यसअघि सोनाम ल्होसारको सार्वजनिक बिदा कटौती गरिएको भए पनि सरकारले पछि पुनः देशभर बिदा दिन थालेको हो। साथै, विभिन्न प्रदेश तथा स्थानीय सरकारले पनि आज सार्वजनिक बिदा दिएका छन्।






















































