मकवानपुरमा आइतबार पाँचौँ बाख्रा दिवस अनौठो तर सन्देशमूलक तरिकाले मनाइएको छ। दिवसको अवसरमा बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले बाख्रालाई माला लगाएर सम्मान गर्दै कार्यक्रमको उद्घाटन गरेका छन्।
हेटौंडा–३ स्थित सिमलथली एग्रो प्रालिमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले बाख्राको घाँटीमा सयपत्री फूलको माला लगाइदिएपछि खोरमा रहेका बाख्रालाई दाना खुवाएका थिए। कार्यक्रममा सहभागी अन्य व्यक्तिहरूले पनि बाख्रालाई दाना खुवाएर दिवसको औपचारिकता पूरा गरेका थिए। उक्त फार्ममा हाल उन्नत जातका करिब ९ सय बाख्रा पालिएको छ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले बाख्रापालन क्षेत्रका विद्यमान समस्याहरू समाधान गर्न प्रदेश सरकार सक्रिय रूपमा लागिरहेको बताए। खसीबोकाको मासुमा नेपाल क्रमशः आत्मनिर्भर बन्दै गएको उल्लेख गर्दै उनले भारतबाट हुने आयात निरुत्साहित गर्न सरकारी तहबाट विभिन्न कदम चालिएको जानकारी दिए।
‘व्यावसायिक बाख्रापालन नेपालीको शान, मासुमा आत्मनिर्भरता हाम्रो अभियान’ भन्ने नारासहित मनाइएको कार्यक्रममा व्यवसायीहरूले भने फरक चिन्ता व्यक्त गरे। चिकित्सकहरूले रातो मासु नखान सल्लाह दिँदा बजारमा उत्पादित खसीबोकाको बिक्री प्रभावित भएको उनीहरूको गुनासो थियो।
जिल्लामा हाल ४२ वटा बाख्रा फार्म सञ्चालनमा रहेका छन्, जसले स्थानीय स्तरमा रोजगारी र मासु उत्पादनमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन्।






















































