मकवानपुरमा प्रतिनिधिसभा चुनावको चहलपहल, ४४ उम्मेदवार प्रचारमा सक्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू सक्रिय रूपमा चुनावी अभियानमा होमिएका छन्। दुई क्षेत्रबाट गरी ४४ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् र उनीहरू आजदेखि आ–आफ्नो तरिकाले मतदातासम्म पुग्न थालेका हुन्।

मकवानपुर क्षेत्र नम्बर–१ मा २३ जना र क्षेत्र नम्बर–२ मा २१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। क्षेत्र नम्बर–१ मा विभिन्न राजनीतिक दलका १३ जना र १० जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने क्षेत्र नम्बर–२ मा दलका १६ जना र ५ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

उम्मेदवारी दर्ताका दिन मङ्गलबार निर्वाचन अधिकृतको कार्यालयले तोकेको समयअनुसार प्रमुख राजनीतिक दलहरूले दलबलसहित उम्मेदवारी दर्ता गराएका थिए। कांग्रेस, एमाले, नेकपा, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलका उम्मेदवारहरूले हेटौंडा बजार परिक्रमा गर्दै शक्ति प्रदर्शनसमेत गरेका थिए।

क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसबाट महालक्ष्मी उपाध्याय ‘डिना’, नेकपा एमालेबाट रामेश्वर राना, नेपाली कम्युनिष्ट पार्टीबाट विजय गौतम र राप्रपाबाट दीपकबहादुर सिंह चुनावी मैदानमा छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश गौतम, श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठ महर्जन, उज्यालो नेपाल पार्टीबाट सुरेन्द्र लामा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट तेजप्रसाद उप्रेती, नेमकिपाबाट रञ्जना सुवाल र नेकपा (माओवादी)बाट महेश नेपालीले उम्मेदवारी दिएका छन्।

यस क्षेत्रबाट जनता समाजवादी पार्टीका रुपक लामा, एकल चुनाव चिह्नसहित जसपाबाट दीपक सिलवाल तथा नेशनल मंगोल अर्गनाइजेशनबाट युवराज स्याङतान पनि प्रतिस्पर्धामा छन्। स्वतन्त्र उम्मेदवारका रूपमा अमर दंगाल, अमिक परिवार, टिकाप्रसाद चौंलागाईं, प्रमिलाकुमारी खतिवडा, मठु पुलामी मगर, राकेशकुमार शर्मा, राजकुमार खड्का, राजाराम बोगटी, शिला सुवेदी र ज्ञानसागर लामा चुनावी दौडमा उत्रिएका छन्।

त्यस्तै, क्षेत्र नम्बर–२ मा कांग्रेसका बुद्ध लामा, एमालेका महेश बर्तौला, नेपाली कम्युनिष्ट पार्टीका लवशेर विष्ट, राप्रपाका रामबहादुर थोकर, श्रम संस्कृति पार्टीका युनिश लामा स्याङतान र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशान्त उप्रेती उम्मेदवार बनेका छन्।

उज्यालो पार्टी नेपालबाट प्रविणकुमार स्याङतान, राष्ट्रिय जनमोर्चाबाट निरबहादुर सिन्तान, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोष विष्ट, नेशनल मंगोल अर्गनाइजेशनबाट हिरालाल स्याङतान, नेमकिपाबाट सरोज तामाङ, नेकपा (माओवादी)बाट राम घलान ‘वाटर’ र संयुक्त नागरिक पार्टीबाट शुभराज प्रजाले पनि उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी, आम जनता पार्टीका सूर्य राई र जनता समाजवादी पार्टीका छविलाल वाइबाले एकल चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्दैछन्। स्वतन्त्र उम्मेदवारका रूपमा अमृत वल, कृष्णराम श्रेष्ठ, प्रतीक्षा बानियाँ, रमेश आचार्य र सितामाया वल मैदानमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.