मकवानपुरको भीमफेदीमा बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले साना किसानको जीवनस्तर उकास्ने लक्ष्यसहित प्रदेश सरकारले ‘थप पशु उपहार’ कार्यक्रम ल्याउने घोषणा गरेका छन्।
राष्ट्रिय कृषक समूह महासंघ नेपाल, बागमती प्रदेश कार्यसमितिद्वारा आयोजित किसान चौतारी तथा प्रथम प्रदेश परिषद् भेलालाई सम्बोधन गर्दै मन्त्री पौडेलले निर्वाहमुखी खेतीलाई विस्थापित गर्दै साना किसानलाई व्यावसायिक कृषितर्फ उन्मुख गराउने सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताए।
उनका अनुसार आगामी बजेट तथा कार्यक्रम साना किसानलाई प्रत्यक्ष लाभ पुग्ने गरी केन्द्रित गरिनेछ।
“एउटा गाई पालेका किसानलाई थप दुईवटा गाई किनिदिने र एउटा भैंसी पालेकालाई अर्को भैंसी थपिदिने गरी कार्यक्रम ल्याउने तयारीमा छौँ,” मन्त्री पौडेलले भने, “साना किसानलाई आत्मनिर्भर र व्यावसायिक बनाउनु नै हाम्रो मुख्य उद्देश्य हो।”
किसानको वर्गीकरण नहुँदा अनुदान वितरणमा समस्या आएको स्वीकार गर्दै उनले छिट्टै किसान वर्गीकरण प्रक्रिया टुंग्याइने प्रतिबद्धता पनि जनाए।
युवाहरूको बढ्दो वैदेशिक रोजगारीप्रतिको आकर्षणप्रति चिन्ता व्यक्त गर्दै मन्त्री पौडेलले बागमती प्रदेश सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले विशेष प्रोत्साहन कार्यक्रम अघि सारेको जानकारी दिए।
डिप्लोमासम्म अध्ययन गरेका युवाले व्यावसायिक कृषि सुरु गरेमा प्रदेश सरकारले ८ देखि १० लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराइरहेको उनले बताए।
“नयाँ पुस्ताको सपना विदेशमा सीमित हुनु दुःखद हो,” उनले भने, “कृषि प्राविधिक शिक्षा हासिल गरेर स्वदेशमै उद्यम गर्ने युवालाई सरकारले ठुलो आर्थिक सहयोग गर्दै आएको छ।”
महासंघका बागमती प्रदेश अध्यक्ष विजय लामाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशका १३ वटै जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। भेलामा साना किसानका समस्या, कृषि प्रविधिमा पहुँच, तथा आगामी नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयमा व्यापक छलफल गरिएको थियो।






















































