फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरका स्वतन्त्र उम्मेदवारले विविध र रोचक चुनाव चिन्ह प्राप्त गरेका छन्। मकवानपुरका दुई निर्वाचन क्षेत्रका स्वतन्त्र उम्मेदवारलाई खसीको टाउकोदेखि प्रेसर कुकर, क्यामरा र कैचीसम्मका चुनाव चिन्ह प्रदान गरिएको हो।
मकवानपुर क्षेत्र नम्बर १ अन्तर्गत स्वतन्त्र उम्मेदवार अमर दंगालले खसीको टाउको, राजकुमार खड्काले प्रेसर कुकर, अमिक परियारले काउली, टिकाप्रसाद चौलागाईले चेसको गोटी र प्रमिला कुमारी खतिवडाले ठेकी चुनाव चिन्ह पाएका छन्। त्यस्तै, मिठु पुलामी मगरले फिरफिरे, राकेश कुमार शर्माले आँप, राजाराम बोगटीले जिप, सुशीला सुवेदीले झोला र ज्ञानसागर लामाले कैची चिन्ह पाएका छन्।
यसैगरी मकवानपुर क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार अमृत वललाई त्रिभुज, कृष्णराम श्रेष्ठलाई जिप, प्रतिक्षा बानियाँलाई ठेकी, रमेश आचार्यलाई क्यामरा र सितामाया वललाई ट्रफी चुनाव चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ।
मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आयोगको नियमअनुसार उपलब्ध सूचीबाट रोज्न लगाएर चुनाव चिन्ह प्रदान गरिएको हो। राजनीतिक दलका उम्मेदवारले भने आयोगमा दर्ता भइसकेका दलगत चुनाव चिन्हअनुसार चिन्ह प्राप्त गरेका छन्।
मकवानपुरका दुई निर्वाचन क्षेत्रमा कुल १५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। जसअन्तर्गत क्षेत्र नम्बर १ मा १० र क्षेत्र नम्बर २ मा ५ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। दल र स्वतन्त्र गरी मकवानपुरमा जम्मा ४४ जनाको उम्मेदवारी कायम रहेको प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए।
निर्वाचन आयोगले तोकेको समयसीमाभित्र कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएपछि सबै उम्मेदवारी अन्तिम रूपमा कायम भएको हो।




































