यसपटक राष्ट्रिय सभाका १९ सदस्यमध्ये राष्ट्रपति नियुक्त एक जना बाहेक १८ पदका लागि चुनाव तय भएको हो। तर कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेकाले आज १७ पदका लागि मात्र मतदान हुँदैछ।
सातै प्रदेशमा मतदान केन्द्र
सबै प्रदेशमा मतदान केन्द्र तोकिएका छन्। विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, घोराही, वीरेन्द्रनगर र धनगढीमा प्रदेशगत मतदान भइरहेको छ। निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ।
को–को हुन् मतदाता?
राष्ट्रिय सभा चुनावमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन्। तर केही जनप्रतिनिधिले प्रतिनिधिसभा चुनावका लागि राजीनामा दिएपछि उनीहरूको नाम मतदाता सूचीबाट हटाइएको छ।
उम्मेदवार र राजनीतिक समीकरण
१८ सिटका लागि कुल ४४ जनाले उम्मेदवारी दिएका छन्। कांग्रेस र एमालेबीच भागबन्डा अनुसार कांग्रेस ९ र एमाले ८ सिटमा प्रतिस्पर्धामा छन्। बाँकी एक सिटमा दुवै दलले लोसपाका महन्थ ठाकुरलाई समर्थन गरेका छन्। सहमति हुन नसकेपछि नेकपाले भने एकल उम्मेदवारी दिएको छ।






















































