हेटौंडा — राष्ट्रिय सभा निर्वाचनअन्तर्गत बागमती प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। महिलातर्फ कांग्रेसकी गीता देवकोटा र अन्य समूहबाट एमालेका प्रेमप्रसाद दंगाल निर्वाचित भएका हुन्।
निर्वाचनमा नेकपा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवारसहित कुल ६ जनाबीच प्रतिस्पर्धा भएको थियो।
महिलातर्फ निर्वाचित देवकोटाले प्रदेश सभाबाट ६० मत प्राप्त गरी ३ हजार १८० मतभार हासिल गरिन्। स्थानीय तहबाट १६१ मतसहित ३ हजार ५९ मतभार पाउँदै उनले कुल ६ हजार २३९ मतभारसहित जित सुनिश्चित गरिन्।
अन्य समूहबाट निर्वाचित दंगालले प्रदेश सभातर्फ ५९ मतबाट ३ हजार १२७ मतभार प्राप्त गरे। स्थानीय तहतर्फ १६२ मतसहित ३ हजार ७८ मतभार पाएपछि उनको कुल मतभार ६ हजार २०५ पुगेको हो।
महिलातर्फ नेकपाकी उम्मेदवार सरोजकुमारी झाले २ हजार ५२२ मतभार प्राप्त गरिन् भने नेमकिपाकी कविता महर्जनले १९७ मतभार पाइन्। अन्य समूहमा नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५४१ मतभार ल्याउँदा नेमकिपाका विक्रम ढुकुछुले १९७ मतभार प्राप्त गरे।
निर्वाचनमा बागमती प्रदेश सभाका ८९ जना सदस्य र स्थानीय तहका २२९ जना प्रमुख तथा उपप्रमुख गरी कुल ३१८ मतदाताले मतदान गरेका थिए। प्रदेश सभातर्फ ४ हजार ७१७ र स्थानीय तहतर्फ ४ हजार ३५१ मतभार खसेको थियो। कुल खसेको मतभार ९ हजार ६८ रहेको निर्वाचन कार्यालयले जनाएको छ।






















































