खैरो हेरोइनसहित हेटौंडाबाट ६ जना प्रहरीको नियन्त्रणमा

हेटौंडा । मकवानपुर प्रहरीले जिल्लाका विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट जम्मा ७ ग्राम २०० मिलिग्राम लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार शनिबार रीतपूर्वक खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध फेला परेको हो। पक्राउ परेकालाई मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।

पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका–२ निवासी २१ वर्षीय विकास परियार रहेका छन्। उनको साथबाट ३ ग्राम ७५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, उपमहानगरपालिका–४ का २१ वर्षीय विनोद ढुंगानाबाट ३ ग्राम लागूऔषध फेला परेको छ। उपमहानगरपालिका–११ का २२ वर्षीय छिरिङ लो र उपमहानगरपालिका–१९ का २९ वर्षीय विनोद राज जिम्बाको साथबाट जनही २५० मिलिग्राम लागूऔषध बरामद गरिएको छ।

यस्तै, उपमहानगरपालिका–१७ ठूले गंगटे निवासी २४ वर्षीय योएल प्रजा र २९ वर्षीय प्रेमबहादुर प्रजाको साथबाट २०० मिलिग्राम लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा लागूऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.