महिला कथामा केन्द्रित ‘रमिताको पिरती’ ट्रेलरपछि चर्चामा, माघ २३ देखि प्रदर्शन

आगामी माघ २३ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘रमिताको पिरती’ सार्वजनिक ट्रेलरपछि चर्चामा छ। प्रायः नेपाली फिल्महरूमा कथा लिड अभिनेताको वरिपरि घुम्ने गरे पनि यो फिल्म भने पूर्ण रूपमा महिला पात्र रमिताको भावनात्मक यात्रामा केन्द्रित छ।

साँचो पिरतीको खोजीमा रहेकी रमिताको जीवनमा आउने उतार–चढावलाई फिल्मको मूल विषय बनाइएको छ। रमिताको भूमिकामा आना शर्मा देखिएकी छन् भने उनका साथमा धिरज मगर र विनय श्रेष्ठको अभिनय रहेको छ। यही फिल्ममार्फत गायक समीर श्रेष्ठले अभिनय यात्रा सुरु गरेका छन्। फिल्मको कथा यी तीन पात्रको सम्बन्ध र मनोविज्ञानको सेरोफेरोमा घुम्छ।

आना शर्मा यस फिल्ममा अभिनेत्री मात्र होइन, कार्यकारी निर्माताको भूमिकामा पनि छिन्। महिलाकेन्द्रित फिल्ममा पहिलोपटक देखिएकी आनाले ब्रेकअपपछि आफूलाई चिन्ने, स्वीकार्ने र रोज्ने भावनात्मक यात्राको कथा ‘रमिताको पिरती’ले प्रस्तुत गर्ने बताइन्।
“रमिता पात्रको भावनात्मक यात्रालाई केन्द्रमा राखेर कथा अघि बढाइएको छ। फिल्म ब्रेकअपबाट सुरु भए पनि यो केवल ब्रेकअपको कथा होइन, त्यसपछिको आत्मखोज, आत्मसम्मान र आत्मस्वीकृतिको यात्रा हो,” आनाले भनिन्।

रमिता पात्र तयार गर्न आफूले निर्देशक सुदिप्तासँग छ महिनासम्म नजिकबाट काम गरेको अनुभव पनि उनले सुनाइन्। “पात्रलाई डेभलप र एक्सप्लोर गर्दै एडप्ट गरेँ। अहिले रिलिज नजिकिँदा निकै उत्साहित छु। यो फिल्म र पात्र दुवै मेरो लागि विशेष छन्,” उनले भनिन्।

सुरुमा कलाकारको रूपमा मात्र स्क्रिप्ट सुनेर प्रोजेक्टमा आबद्ध भए पनि पछि निर्देशक सुदिप्ता र निर्माता सागर लम्सालसँग नजिकबाट काम गर्दै कार्यकारी निर्माताको जिम्मेवारी पाएको आना बताउँछिन्। “सानो कोर टिमसँग दैनिक मिटिङ र वर्कसप गर्दै निर्णय गर्ने वातावरण बन्यो। निर्माता सागरजीको विश्वासले मलाई नयाँ सिकाइ र रचनात्मक स्वतन्त्रता दियो,” उनले भनिन्।

फिल्मले विशेषगरी युवा पुस्ता र युवतीहरूलाई लक्षित गर्दै महत्वपूर्ण सन्देश दिने विश्वास आना शर्माको छ। “पहिला आफूलाई माया गर्नुपर्छ, आफूलाई केयर गर्नुपर्छ, अनि मात्र अरूलाई माया दिन सकिन्छ भन्ने सन्देश फिल्मले दिन्छ,” उनले बताइन्। सामाजिक सञ्जालको प्रभाव, बाह्य स्वीकृतिको खोजी र त्यसले मानसिक अवस्थामा पार्ने असरलाई पनि फिल्मले चित्रण गर्ने जनाइएको छ।

फिल्ममा आना र समीरले निभाएका पात्रहरूको प्रेम सम्बन्ध गीतमार्फत प्रस्तुत गरिएको छ, जसले प्रेमको सुरुआती चरण र पात्रबीचको कनेक्सन देखाउँछ। आनाका लागि ‘रमिताको पिरती’ तीन कारणले विशेष छ—यो पूर्ण रूपमा महिलाको कथा हो, महिला निर्देशकद्वारा लेखिएको र निर्देशित फिल्म हो र उनले पहिलो पटक कार्यकारी निर्माताको भूमिका निर्वाह गरेकी छन्।

सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा आर।पी। प्रोडक्सन एसोसिएट निर्माता, सुवास कोइराला सह–निर्माता तथा निर्देशक छन् भने सागर लम्साल निर्माता हुन्।
फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत, शिशिर विषंखेको डीओपी, सुनिल सिवाकोटीको सम्पादन, कपिल पराजुलीको कलर र कृतिका बरालको कोरियोग्राफी रहेको छ।

काठमाडौं उपत्यकामा फिल्मलाई रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछन् भने उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.