नेपथ्य माघ २१ गते हेटौंडामा गुञ्जिने

प्रेमिल मौसम र राजनीतिक चहलपहलले रङ्गिन बनेको फेब्रुअरीमा लोक–रक ब्यान्ड नेपथ्यले फेरि स्वदेशी दर्शकसँग भेटघाट गर्ने भएको छ। यो वर्ष दुई चरणमा तय गरिएको स्वदेश यात्राको पहिलो खण्डअन्तर्गत नेपथ्यले चार सहरमा कन्सर्ट गर्दैछ।

यात्राको सुरुवात फेब्रुअरी ४ (माघ २१) गते बुधबार साँझ हेटौँडाबाट हुनेछ। सहरको मुटुमा रहेको भुटनदेवी माध्यमिक विद्यालयको प्रांगणमा यस सिजनको पहिलो नेपथ्य कन्सर्ट आयोजना हुन लागेको हो।

हेटौँडापछि ब्यान्ड बुटवल पुग्नेछ। ‘रोज डे’ को साँझ माघ २४ गते रामनगरस्थित बुटवल इन्टरनेसनल कन्भेन्सन सेन्टरमा नेपथ्यले प्रस्तुति दिनेछ। शनिबार परेकाले बुटवल र आसपासका दर्शकहरूका लागि यो साँझ संगीत र प्रेमको विशेष मिलन हुने आयोजकको अपेक्षा छ।

त्यसपछि माघ २७ गते नेपथ्य नारायणघाट पुग्नेछ। क्याम्पा चौरमा हुने कन्सर्टमार्फत दर्शकहरूले संगीतमय साँझको अनुभव गर्नेछन्। यही मैदानमा तीन वर्षअघि पनि नेपथ्यले प्रस्तुति दिइसकेको थियो। हेटौँडा, बुटवल र नारायणघाट—यी तीनै सहर तीन वर्षपछि फेरि नेपथ्यको स्वागतमा जुटेका हुन्।

पहिलो चरणको चौथो तथा अन्तिम प्रस्तुति भने विशेष हुनेछ। फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन्स डे का दिन नेपथ्य पहिलोपटक सुन्दर पहाडी नगरी बन्दीपुरमा गुञ्जिनेछ। तलतिरका बजारहरूमा पटक–पटक प्रस्तुति दिँदै आएको ब्यान्डले यसपटक दर्शकलाई बन्दीपुरको टुँडिखेलसम्म डोहोर्‍याउने तयारी गरेको छ।

ब्यान्डका मुख्य गायक अमृत गुरुङ भन्छन्, “तीनवटै सहरबाट हामीले सधैं आत्मीय माया पाएका छौं। बन्दीपुरमा भने यसपटक गायकको रूपमा पहिलो पाइला चाल्दैछु, जुन अनुभवले निकै हौस्याएको छ।” गुरुङका अनुसार बन्दीपुरमै बस्दा लेखिएका केही शब्दहरू नेपथ्यका गीतका रूपमा दर्शकसम्म आइपुगेका छन्।

कन्सर्ट व्यवस्थापनको जिम्मेवारी हेटौँडामा रमाइलो इभेन्ट्स्, बुटवलमा ब्याकअप इभेन्ट म्यानेजमेन्ट, नारायणघाटमा नेपाल डायरीज र बन्दीपुरमा खड्गदेवी बन्दीपुर युथ क्लबले लिएका छन्।

घोषणासँगै सुरु गरिएको अर्ली बर्ड टिकटमध्ये बुटवल, नारायणघाट र बन्दीपुरको कोटा सकिइसकेको आयोजकहरूले बताएका छन्। विद्यार्थी तथा विशेष समूहका लागि छुट्टै सहुलियत टिकट पनि सीमित संख्यामा उपलब्ध छन्, जुन तीव्र रूपमा बिक्री भइरहेको जनाइएको छ।

नेपथ्य व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठका अनुसार, “विश्वका ठूला सहरदेखि साना पहाडी बस्तीसम्म दर्शकले एउटै गुणस्तरको नेपथ्य अनुभव पाउन् भन्नेमा हामी सचेत छौं।” यसपटक पनि प्राविधिक र मानवीय दुवै पक्षमा उच्चतम सेवा प्रयोग गरिने उनले बताए।

पहिलो चरणका यी चार कन्सर्टपछि नेपथ्यको स्वदेश यात्रा दोस्रो चरण भने आगामी नोभेम्बरमा आयोजना गरिने ब्यान्डले जनाएको छ।

सबै कन्सर्टमा अमृत गुरुङसँगै ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मी सहभागी रहनेछन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.