माघ २६ देखि मकवानपुरगढीमा एचपिभी खोप अभियान, ८ वटै वडामा सञ्चालन

मकवानपुरगढी। पाठेघरको मुखको क्यान्सरबाट किशोरीहरुलाई जोगाउने उद्देश्यले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत मकवानपुरगढी गाउँपालिकामा १९३ जना छात्रालाई एचपिभी खोप लगाइने भएको छ।

गाउँपालिका स्तरीय खोप समन्वय समितिले बुधबार अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै खोप अभियान सञ्चालनबारे जानकारी गराएको हो। कार्यक्रम समन्वय समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष स्याङ्तानले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिन खोप अत्यन्तै आवश्यक भएको बताए। पाठेघरको क्यान्सर जस्तो जटिल रोगको जोखिम न्यूनीकरण गर्न विद्यालयमै सहज वातावरण बनाएर खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिए।

स्वास्थ्य शाखा प्रमुख ध्रुवप्रसाद लामिछानेका अनुसार यस वर्ष पालिकाभित्र १९३ जना किशोरीलाई खोप दिइनेछ। जसमा गत वर्ष छुटेका ९ जना र विद्यालय बाहिर रहेका २ जना किशोरी पनि समेटिएका छन्।

वडागत विवरण अनुसार वडा नं. १ मा १९ जना, वडा नं. २ मा ४५ जना, वडा नं. ३ मा २२ जना, वडा नं. ४ मा ८ जना, वडा नं. ५ मा ३२ जना, वडा नं. ६ मा २८ जना, वडा नं. ७ मा २५ जना र वडा नं. ८ मा १२ जना छात्रालाई खोप लगाइनेछ।

माघ २६ देखि २८ गतेसम्म सञ्चालन हुने खोप कार्यक्रम अन्तर्गत १६ वटा सामुदायिक र १ वटा संस्थागत विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रालाई खोप दिइने स्वास्थ्य शाखाले जनाएको छ। अभियानमा छुटेका छात्राहरुलाई फागुन ८ देखि १० गतेसम्म हुने नियमित खोप कार्यक्रममा समावेश गरिनेछ।

गत वर्ष गाउँपालिकाभित्र कक्षा ६ देखि १० सम्म अध्ययनरत २ हजार ४५ जना किशोरीलाई एचपिभी खोप लगाइएको थियो। तीमध्ये कक्षा ६ का मात्रै २२४ जना रहेको स्वास्थ्य शाखाले जनाएको छ।

अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ई. सुधन लामिछाने, विभिन्न वडाध्यक्ष, स्वास्थ्य चौकी प्रमुख, शाखा प्रमुख तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.