मनहरीमा ब्रेक फेल भई ट्रक पल्टियो, दुई जना घाइते

हेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी क्षेत्रमा आज बिहान ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। दुर्घटना मनहरी गाउँपालिका–७ शिविरमा बिहान करिब ५ः४० बजे भएको हो।

हेटौँडाबाट चितवनतर्फ चामल बोकेर गइरहेको ना ६ ख ६५७४ नम्बरको ट्रक ब्रेक फेल भई सडकको बायाँतर्फ पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा ट्रक चालक पर्सा वीरगञ्ज महानगरपालिका–३१ निवासी २७ वर्षीय सन्दिप चौधरी र सहचालक २० वर्षीय विशाल चौधरी घाइते भएका छन्।

प्रहरीका अनुसार घाइते दुवैको हात, छाती र टाउकोमा चोट लागेको छ। प्रारम्भिक उपचारपछि उनीहरूलाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो।

दुर्घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी सहायक निरीक्षक बिसुनदेब महतोको नेतृत्वमा ट्राफिकसहित पाँच जनाको टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनाग्रस्त ट्रक सडक छेउमै रहेकाले राजमार्गमा यातायात सञ्चालन भने प्रभावित नभएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.