एचपीभी खोप आजदेखि, मकवानपुरमा पालिकाअनुसार अभियान

पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी मानिने एचपीभी खोप अभियान आजदेखि देशभर एकसाथ सुरु भएको छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सञ्चालन भएको अभियान फागुन १५ गतेसम्म चल्नेछ।

स्वास्थ्य सेवा विभागका अनुसार यस अभियानमा कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई एचपीभी खोप दिइँदैछ। यसका साथै गत वर्षको अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि खोप लगाइने व्यवस्था गरिएको छ।

मकवानपुर जिल्लामा पनि पालिकाअनुसार फरक–फरक दिनमा विद्यालय र स्वास्थ्य संस्थामार्फत खोप अभियान सञ्चालन भइरहेको छ। सम्बन्धित उमेर समूहका किशोरी तथा अभिभावकलाई नजिकको विद्यालय वा स्वास्थ्य संस्थामा सम्पर्क गरी खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।

खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार यस चरणको अभियानमा देशभर करिब साढे ३ लाख किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ। एचपीभी खोप सुरक्षित, प्रभावकारी तथा पूर्ण रूपमा निःशुल्क भएकाले कुनै हिचकिचाहट नगरी खोप लगाउन आग्रह गरिएको छ।

अध्ययनहरूका अनुसार प्रारम्भिक किशोरावस्थामा एचपीभी खोप दिँदा पाठेघरको मुखको क्यान्सरबाट बच्न अझ प्रभावकारी हुने देखिएको छ। गएको वर्ष सञ्चालन गरिएको अभियानमा झन्डै १६ लाख किशोरीले खोप लगाएका थिए, जसको सहभागिता दर ९४ प्रतिशत रहेको थियो।

नेपालमा हरेक वर्ष दुई हजारभन्दा बढी महिलामा पाठेघरको मुखको क्यान्सर देखिने गरेको अनुमान छ। महिलामा हुने क्यान्सरमध्ये यो दोस्रो प्रमुख क्यान्सर भए पनि क्यान्सरबाट हुने महिलाको मृत्युको मुख्य कारण यही रोग रहेको स्वास्थ्य क्षेत्रका तथ्याङ्कले देखाउँछन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.