नेपालमा अण्डाको मूल्यमा तीव्र गिरावट आएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य घोषणा गरेको छ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार, घरेलु अण्डा उत्पादनमा वृद्धि र भारतबाट ठूलो मात्रामा अण्डा आयात भएपछि मूल्य घटेको हो। नयाँ समर्थन मूल्य अनुसार ठूलो अण्डा प्रतिक्रेट ९३०को मूल्य ३७५ र मिडियम ३३५ रुपैयाँ कायम गरिएको छ।
यसअघि माघ २२ गते ठूलो अण्डा ४३५ र मिडियम ४०५ रुपैयाँमा बिक्री भइरहेको थियो भने माघ ११ गते क्रमशः ४९५ र ४७५ रुपैयाँमा पुगेको थियो। गत मङ्सिरमा मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको थियो, जब ठूलो अण्डा फार्ममा प्रतिक्रेट ५६५ रुपैयाँमा बिक्री भएको थियो।
पोखरेलले बताएअनुसार, भारतीय सेतो अण्डाको ठूलो आपूर्ति र घरेलु उत्पादन वृद्धिका कारण यहाँको अण्डाले बजारमा मूल्य पाउन सकिरहेको छैन। सङ्घले यस विषयमा भारतीय अण्डा आयात रोक्न सरकारी निकायसँग निरन्तर माग गर्दै आएको छ।
अण्डा उत्पादनको लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्छ। मूल्य घट्दा किसान निराश छन्। सङ्घले देशभरका फार्मबाट मूल्य संकलन गरेर चितवनलाई आधार मानेर अण्डाको समर्थन मूल्य निर्धारण गर्ने गरेको छ।


































