नेपाल राष्ट्रिय क्रिकेट टोलीले आईसीसी पुरुष टी२० विश्वकप अन्तर्गत आफ्नो अन्तिम समूह खेलमा स्कटल्याण्ड राष्ट्रिय क्रिकेट टोलीलाई ७ विकेटले पराजित गर्दै १२ वर्षपछि विश्वकपमा ऐतिहासिक जित दर्ता गरेको छ।
वानखेडे स्टेडियममा भएको खेलमा १७१ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। जितका नायक बने उपकप्तान दीपेन्द्र सिंह ऐरी, जसले आक्रामक अर्धशतक प्रहार गर्दै टोलीलाई जितसम्म पुर्याए।
नेपालले सन् २०१४ पछि टी२० विश्वकपमा पहिलो जित हात पारेको हो। यसअघि लगातार ६ खेल गुमाएको नेपालले यस पटक सुपर एट पुग्ने लक्ष्य राखे पनि इंग्ल्यान्ड, इटली र वेस्ट इन्डिजसँग पराजित भएपछि समूह चरणबाटै बाहिरिएको थियो। तर अन्तिम खेलमा सानदार प्रदर्शन गर्दै प्रतियोगिताको सुखद अन्त्य गर्न सफल भयो।
कुशल–आसिफको मजबुत सुरुवात
ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गर्दै नेपाललाई बलियो आधार दिएका थिए। कुशलले ४३ रन बनाउँदा आसिफले ३३ रन जोडे।
९८–३ को अवस्थाबाट दीपेन्द्र र गुल्सन झाले इनिङ्स सम्हाले। दीपेन्द्रले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै जारी विश्वकपमा लगातार दोस्रो अर्धशतक पूरा गरे। टी२० विश्वकपमा लगातार दुई अर्धशतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडी बने। गुल्सन २४ रनमा अविजित रहे।
डेथ ओभरमा नेपालको उत्कृष्ट बलिङ
टस जितेर बलिङ रोजेको नेपालविरुद्ध स्कटल्याण्डले ७ विकेट गुमाएर १७० रन बनाएको थियो। ओपनर माइकल जोन्सले ७१ रन बनाउँदै टोलीलाई मजबुत सुरुवात दिलाएका थिए।


































