मकवानपुरमा ८ महिनामा ३०४ नयाँ उद्योग दर्ता, आधाभन्दा बढी महिलाका नाममा

मकवानपुरमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा उद्योग दर्ता गर्ने क्रम उल्लेखनीय रूपमा बढेको छ। यस अवधिमा कुल ३०४ नयाँ उद्योग दर्ता भएका छन्, जसमा १६८ उद्योग महिलाका नाममा रहेको तथ्यांकले महिला उद्यमशीलता बढ्दो क्रममा रहेको संकेत गर्दछ।

महिलाले सञ्चालन गरेका व्यवसायहरूमा प्रायः जनरल स्टोर्स, सिलाइकटाइ (टेलरिङ) र ब्यूटी पार्लर प्रमुख छन्। उद्योगतर्फ भने कृषि, माछापालन तथा पशुपालनमा उनीहरूको संलग्नता बढी देखिएको छ।

उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद भुसालका अनुसार सरकारले महिलाका नाममा दर्ता हुने व्यवसायमा दस्तुर छुट दिनु, स्थानीय तहको कडाइ तथा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सहज हुनुजस्ता कारणले साना तथा घरेलु उद्योग दर्ता बढेको हो।

यसै अवधिमा उद्योगतर्फ नामसारी, नवीकरण, ठाउँसारी, लगत कट्टा र उद्देश्य थपजस्ता विभिन्न प्रक्रिया पनि उल्लेखनीय संख्यामा सम्पन्न भएका छन्। वाणिज्यतर्फ पनि यस्तै गतिविधि सक्रिय देखिएको छ।

उद्योग तथा वाणिज्य सम्बन्धी दर्ता, नवीकरण लगायतका शीर्षकबाट मात्रै १ करोड ३१ लाख ८४ हजार १५९ रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.