बागमती प्रदेशसभामा दुई महत्त्वपूर्ण विधेयक अघि बढ्यो, संशोधनका लागि ७२ घण्टाको समय

हेटौँँडा-बागमती प्रदेशसभाले बिहीबार दुई महत्वपूर्ण विधेयकलाई अर्को चरणमा अघि बढाउने निर्णय गरेको छ। प्रदेशसभाको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक र खानेपानी तथा सरसफाइ सम्बन्धी विधेयकमाथि विस्तृत छलफल गर्न सहमति जनाएको हो।

उपसभामुख अप्सरा चापागाईँले प्रस्तुत गरेको प्रस्तावलाई सभामा उपस्थित सांसदहरूले सर्वसम्मत रूपमा अनुमोदन गरेका थिए। यी विधेयक क्रमशः आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले टेबुल गरेका हुन्।

अब यी विधेयकहरू संशोधन चरणमा प्रवेश गर्नेछन्। प्रदेशसभा सचिवालयले ७२ घण्टाको समय दिएपछि सांसदहरूले आवश्यक संशोधन प्रस्ताव दर्ता गर्नेछन्।

यसअघि भएको सामान्य छलफलमा आर्थिक कार्यविधि विधेयकमा नेकपा सांसद रत्नप्रसाद ढकालले धारणा राखेका थिए। त्यस्तै खानेपानी तथा सरसफाइ विधेयकमा ढकालसँगै कांग्रेसका रामकृष्ण चित्रकार र पुकार महर्जनले विचार प्रस्तुत गरेका थिए। छलफलका क्रममा उठेका जिज्ञासाहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिएका थिए।

त्यसैगरी, बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश लोक सेवा आयोगको छैटौँ वार्षिक प्रतिवेदन पनि पेश गरेका थिए। विशेष समयमा सांसदहरूले समसामयिक विषयमा आ-आफ्ना धारणा राखेका थिए।

अब प्रदेशसभाको अर्को बैठक आगामी वैशाख ६ गते बस्ने गरी स्थगित गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.