रास्वपा केन्द्रीय सदस्यमा मकवानपुरको शून्य नतिजा, चारै उम्मेदवार पराजित

चितवनमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका मकवानपुरका चारै जना नेता पराजित भएका छन्।

मकवानपुर क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेतीसहित सागर अर्याल, कृष्ण भेटवाल र भीम फुयाँलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए। तर, मतदानको अन्तिम परिणाममा चारै जना निर्वाचित हुन सकेनन्।

प्राप्त मतअनुसार सांसद् उप्रेतीले ४७३, सागर अर्यालले ९०१, कृष्ण भेटवालले ५५० र भीम फुयाँलले २५० मत प्राप्त गरेका थिए। उनीहरूमध्ये सागर अर्याल भने निर्वाचित हुने सूचीको नजिक पुगेर पनि पराजित भएका हुन्।

यसअघि केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य विन्दबासिनी कंसाकारले पनि उम्मेदवारी दिने चर्चा भए पनि अन्तिम समयमा उम्मेदवारी दर्ता गरिनन्।

रास्वपा मकवानपुरका नेता गोविन्द सापकोटाले मकवानपुरबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका चारै जना नेता पराजित भएको पुष्टि गरे।

यद्यपि, महाधिवेशनबाट बागमती प्रदेश सभापतिमा मकवानपुरकै युवा नेता उत्सव अर्याल दुई मतको झिनो अन्तरले विजयी भएका छन्।

असार ७ गतेदेखि सुरु भएको महाधिवेशन असार १२ गते सम्पन्न भएको थियो। महाधिवेशनले रवि लामिछानेलाई पुनः सभापतिमा चयन गरेको छ। त्यस्तै, उपसभापतिमा डा. स्वर्णिम वाग्ले, महिला उपसभापतिमा सोबिता गौतम, महासचिवमा विपिन आचार्य तथा सहमहामन्त्रीमा असिम शाह, हरि ढकाल र निशा डाँगी निर्वाचित भएका छन्।

पदाधिकारी चयनमा सर्वसम्मतिको प्रयास सफल हुन नसकेपछि मतदानमार्फत नयाँ नेतृत्व चयन गरिएको थियो। महाधिवेशनमा देशभरबाट हजारौँ प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.