हेटौँडा । हेटौँडाबाट कुलेखानी–फाखेल हुँदै काठमाडौं पुग्ने छोटो दूरीको सडक अझै केही दिन सञ्चालनमा नआउने भएको छ। पूर्वाधार विकास कार्यालय, हेटौँडाले सडक बन्दको अवधि थप्दै आगामी असार २५ गतेसम्म सवारी आवागमन रोकिएको जनाएको हो।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ स्थित महालक्ष्मी खोलामा पुल निर्माण तथा उकालो सडक ढलान गर्न गत जेठ १५ गतेदेखि सडक पूर्ण रूपमा बन्द गरिएको थियो। निर्माण कार्य सम्पन्न भए पनि ढलान गरिएको कङ्क्रिटले आवश्यक मजबुती हासिल गर्न बाँकी रहेकाले तत्काल सवारी सञ्चालन गर्न नसकिने कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारीका अनुसार सडक साँघुरो भएकाले ढलान गरिएको भाग पूर्ण रूपमा बलियो नहुँदै सवारी सञ्चालन गर्दा संरचनामा असर पर्ने जोखिम छ। त्यसैले असार २५ गतेसम्म सडक बन्द राख्ने निर्णय गरिएको उनले बताए।
सडक बन्द अवधिभर हेटौँडा–काठमाडौं आवतजावत गर्ने सवारीसाधनलाई कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न आग्रह गरिएको छ।
पूर्वाधार विकास कार्यालयले वैकल्पिक मार्गबाट दुईतर्फी सवारी सञ्चालन सहज बनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुर र काठमाडौंसँग आवश्यक समन्वयका लागि अनुरोधसमेत गरेको जनाएको छ।























