मकवानपुरमा फर्मासिस्टबिना औषधि पसल सञ्चालन गरे कारबाही हुने

हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले औषधि व्यवसायीलाई कानुनी मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिएका छन्। उनले प्रेसक्रिप्सनबिना औषधि बिक्री, फर्मासिस्टबिना सञ्चालन र अव्यवस्थित औषधि पसलप्रति प्रशासन कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएका हुन्।

सोमबार औषधि व्यवसायीसँग भएको अन्तरक्रियामा प्रजिअ अधिकारीले वर्षौँदेखि एउटै शैलीमा सञ्चालन भइरहेका औषधि पसललाई समयअनुसार आधुनिक र व्यावसायिक बनाउन आग्रह गरे। औषधि बिक्री गर्दा औषधिको नाम, चिकित्सकको नाम र सेवन गर्ने तरिका स्पष्ट उल्लेख भएको कागजी झोलामा प्याक गरेर दिने अभ्यास अपनाउन उनले सुझाव दिए।

उनले चिकित्सकको प्रेसक्रिप्सनबिना एन्टिबायोटिक तथा अन्य औषधि बिक्री गर्न नपाइने स्पष्ट पार्दै प्रत्येक औषधि पसलमा फर्मासिस्ट अनिवार्य रूपमा उपस्थित हुनुपर्ने बताए। फर्मासिस्टबिना औषधि बिक्री गर्नु कानुनविपरीत हुने भएकाले त्यस्तो कार्यमा संलग्नलाई कारबाही गरिने उनको भनाइ थियो।

प्रजिअ अधिकारीले औषधि पसलको सरसफाइ र व्यवस्थापनमा पनि विशेष ध्यान दिन व्यवसायीलाई आग्रह गरे। कतिपय पसलमा फोहोर वातावरण, दुर्गन्धित डस्टबिन र न्यूनतम सरसफाइको अभाव देखिएको उल्लेख गर्दै स्वास्थ्यसँग जोडिएको व्यवसाय भएकाले यस्तो अवस्था स्वीकार्य नहुने बताए।

उनले नवीकरण नगरी सञ्चालन भइरहेका औषधि पसल तत्काल कानुनी प्रक्रियामा आउनुपर्ने पनि स्पष्ट पारे। हालै औषधि व्यवस्था विभागले बन्द गर्न निर्देशन दिएका ४३ वटा भेट फर्मा, आयुर्वेद केन्द्र तथा औषधि पसल तत्काल बन्द गरिने जानकारी दिँदै अनुगमनलाई थप प्रभावकारी बनाइने बताए।

कृषि तथा भेट फर्मामार्फत पाराक्वाइटजस्ता घातक विषादी जथाभावी बिक्री भइरहेकोप्रति पनि प्रशासनले चासो दिएको छ। मानव स्वास्थ्यमा गम्भीर असर पार्ने यस्ता पदार्थको अनियन्त्रित बिक्री रोक्न निगरानी र कारबाही दुवैलाई तीव्र बनाइने प्रजिअ अधिकारीले बताए।

उनका अनुसार जिल्ला प्रशासन कार्यालयले अनुगमनका लागि चेकलिस्ट र रोस्टर तयार गरिसकेको छ। नवीकरणबिना पसल सञ्चालन गरेको पाइए तत्काल कारबाही गरिने र नयाँ पसल सञ्चालन गर्नुअघि प्रशासनलाई जानकारी गराउनुपर्ने व्यवस्था कडाइका साथ लागू गरिनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.