मकवानपुर । हेटौंडा उपमहानगरपालिका–६ हात्तीलेटस्थित धरान–चतरा सडकखण्डमा शनिबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गौरीटारबाट चौघडा चोकतर्फ जाँदै गरेको प्रदेश २–०३–००९ प ७०२८ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई सडक किनारको रेलिङमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा–६ निवासी अन्दाजी १७/१८ वर्षीय प्रतिक मानन्धर गम्भीर घाइते भएका थिए। टाउको र छातीमा गम्भीर चोट लागेका उनलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा दिउँसो करिब ३ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
मोटरसाइकलको पछाडि सवार हेटौंडा–६ कै अन्दाजी १७ वर्षीय अंकुर लामा घाइते भएका छन्। उनको दुवै हात र बायाँ खुट्टामा चोट लागेको छ। प्रहरीका अनुसार उनको अवस्था मध्यम रहेको छ र उपचार भइरहेको छ।
दुर्घटनापछि प्रहरी चौकी चौघडाबाट ट्राफिकसहितको टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरी अस्पताल पठाएको थियो। दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।























