बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले हेटौंडामा आन्दोलनका क्रममा क्षति पुगेका सरकारी भवनहरूको निरीक्षण गर्नुभएको छ। उहाँसहितको टोलीले पाँचतले मन्त्रालय भवन, प्रमुख सचिवको निवास लगायतका स्थानको अवलोकन गरेको हो।
मन्त्रीका अनुसार काठमाडौंबाट ल्याइएका स्ट्रक्चरल इन्जिनियरहरूले भवनहरूको प्राविधिक मूल्याङ्कन गरिसकेका छन्। सोही आधारमा मर्मत तथा पुनर्निर्माणको काम भइरहेको छ।
हाल धेरैजसो भवनको मर्मत अन्तिम चरणमा पुगेको छ र केही भवन १५ दिनभित्रै सञ्चालनमा आउने तयारीमा छन्। मन्त्रालयले चैत मसान्तभित्र सबै मर्मत कार्य सक्ने लक्ष्य लिएको छ।
गम्भीर रूपमा क्षति पुगेका केही भवन भने भत्काएर पुनःनिर्माण गर्नुपर्ने भएकाले त्यसबारे अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ।
आन्दोलनका कारण प्रदेशभर ठूलो क्षति भएको थियो। सरकारी कार्यालय, भवन, सवारीसाधन र अन्य सामग्री गरी करिब ९० करोड रुपैयाँ बराबरको नोक्सानी भएको प्रारम्भिक विवरणमा उल्लेख छ।
अब मर्मत कार्य सकिएसँगै सरकारी सेवा पुनः नियमित रूपमा सञ्चालन गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।























































