मकवानपुरको भीमफेदी गाउँपालिका–२ गुप्तेश्वरीस्थित हेटौंडा–भैंसे–भीमफेदी–काठमाडौं सडकखण्डमा भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन्।
शनिबार साँझ भएको दुर्घटनामा भीमफेदी गाउँपालिका–६ धोर्सिङ निवासी करिब ५७ वर्षीय रुद्र आचार्य घाइते भएका हुन्। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार उनको मुख तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। बोल्न सक्ने अवस्थामा रहेका आचार्यलाई दुर्घटनामा संलग्न भारतीय कारमार्फत उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको भारतीय नम्बर UP65DU 5051 को कारले धोर्सिङस्थित एक होटलमा बियर खरिद गरेपछि पैसा नतिरी हिँडेको आरोप छ। होटल सञ्चालक आचार्यले कारलाई रोक्न नम्बर नखुलेको मोटरसाइकलमा लिफ्ट लिएर पछ्याएका थिए।
कारलाई रोक्ने क्रममा मोटरसाइकल कारको अगाडि आएपछि कारले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि कार चालक भारत उत्तर प्रदेश भदोहीका करिब २८ वर्षीय रजनीश मिश्रालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल भने घटनास्थलमा फेला परेको छैन। मोटरसाइकलको नम्बरसमेत खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
























