जिल्ला प्रहरी कार्यालय बाराले अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुर कैलाश गाउँपालिका–२ निवासी ५५ वर्षीय खड्गबहादुर मोक्तान र साबिक डाँडाखर्क गाविस–८ का ४९ वर्षीय लालबहादुर स्याङतान रहेका छन्।
प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिमरा र लागुऔषध नियन्त्रण ब्युरो वीरगन्जको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। जीतपुर–सिमरा उपमहानगरपालिका–२१ स्थित कल्पवृक्ष होटल नजिक सडकखण्डमा शंकास्पद अवस्थामा हिँडिरहेका बेला उनीहरू पक्राउ परेका थिए।
जाँचका क्रममा उनीहरूको साथबाट लुकाइछिपाइ राखिएको ९८२ ग्राम अफिमजस्तो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। उक्त लागुऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा दुवैजनामाथि थप अनुसन्धान भइरहेको छ।
प्रतिकृया दिनुहोस्






















































