हेटौंडा, जेठ २१ — नेपाल पत्रकार महासंघ बागमती प्रदेशको पाँचौं साधारण सभा तथा प्रदेशस्तरीय मिडिया सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। जेठ २२, २३ र २४ गते हेटौंडामा आयोजना हुने कार्यक्रमका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन पूरा भएको प्रदेश समितिले जनाएको छ।
प्रदेश समितिका महासचिव राधेश्याम खतिवडाका अनुसार जेठ २२ गते हुने मिडिया सम्मेलनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले गर्ने कार्यक्रम तय भएको छ। सम्मेलनमा पत्रकारिता क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा विज्ञहरूको सहभागितामा छलफल तथा बहस गरिनेछ।
सम्मेलन अन्तर्गत ‘बदलिँदो पत्रकारिता : संकट, चुनौती र अवसर’, ‘गुणस्तरीय पत्रकारिता : आजको आवश्यकता’ तथा ‘समाजको आँखामा मिडिया’ विषयमा केन्द्रित सत्र सञ्चालन गरिने आयोजकले जनाएको छ।
यस्तै, पाँचौं साधारण सभाको उद्घाटन नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा बाट हुने तयारी गरिएको छ। साधारण सभामा बागमती प्रदेशका १० जिल्लाबाट जिल्ला अध्यक्ष, प्रदेश परिषद् सदस्य तथा पत्रकारहरूको सहभागिता रहने प्रदेश अध्यक्ष कृष्ण सारु मगर ले जानकारी दिनुभयो।
पत्रकारिता क्षेत्रका चुनौती, अवसर र गुणस्तरीय अभ्यासबारे केन्द्रित हुने सम्मेलनले प्रदेशभरका सञ्चारकर्मीबीच अनुभव आदानप्रदान र नीतिगत बहसलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
















